केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

दाङ | भदौ ३१, २०८१

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही:  दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

 

जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

 

राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ ।

 

तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उहाँले वार्षिक रु १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ ।

 

केराखेतीबाट राम्रो आम्दानी लिँदै आउनुभएका किसान चौधरी भन्नुहुन्छ, “अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।” रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उहाँ बताउनुहुन्छ ।

 

उहाँ अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेको बताउनुहुन्छ । किसान चौधरीले भन्नुभयो, “उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन् ।”

 

भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उहाँ बताउनुहुन्छ । उहाँजस्तै सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ ।

 

अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिनुभएको हो । केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको बताउनुभयो । थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको बताउनुहुन्छ ।

 

उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले भन्नुभयो, “केराको बिक्रीमा पनि समस्या छैन । उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ ।”

 

कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय ७० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।

 

त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ । यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताउनुहुन्छ ।

 

जिल्लामा देउखुरीको राप्ती, गढवा गाउँपालिकासँगै घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्